पढेको थिए महाभारतमा कतै, भिष्म पितामह बच्चामा बाँचेको दुःख खेप्न बाँकी भएर रे
सायद म पनि बाँचेको बच्चामा टाइफाईड अनि निमोनिया हुँदा पनि की ?
ममता अनि मायाको खोजमा भौतारिँदा पनि, मनका अनेक चाहनालाई तिता मनले कुल्चिदा पनि
खै त भगवानले देखेको, खै त भाग्य पलाएको नी ।।
बालापन बिते निराशा अनि अभावमा, यौवन सकिए जुत्ता अनि यो शरीर घिसार्दैमा
अब बचेका पल कसरी कुन कष्टमा कता सकिने हो जिन्दगीले पछार्दा पछार्दा ।
सबैलाई आफ्नै जस्तो सम्झि माया समान व्यवहार गर्दा, ठूलालाई मान इज्जत गर्दा,
किन गर्छन् उल्टै छलकपट अनि आफ्नो गल्ति छोपेर लगाउछन् लाल्छना ।।
अहो ! जिन्दगी बरु दे न मलाई चिन्ने शक्ति मान्छे भित्रको दैत्य अनि मानवरुपी भावना
कति भोग्नु हर क्षण त्यो निर्जिवहरूको स्वार्थ अनि मेरो परिश्रमको मोल खोस्ने लालचा ।
ठगिएकै हु म कर्म अनि भाग्यले पनि ठगिएको छु,
त्यसैले त सबैतिर घेरिएको छु बथान गिद्ध अनि ब्वाँसोका
अरुका लागि अप्ठेरोको लौरो भएको छु प्रयोग गरे पछि फालि दिन्छन् रद्दिको टोकरीमा ।।
प्रिय पत्नी, होलान् तिम्रा मनभित्र दबाएर राखेका अनेक अघुरा चाहना अनि आकाञ्छया
घोट्दैछु पूरा गर्ने ती चाहना सक्नेसम्म यी पञ्चतत्व रुपी हाड अनि छाला ।
प्रिय ठूलो छोरा, तिमी त भई सक्यौं अब उमेरदार उभिने आफ्नै खुट्टामा
गर संघर्ष है आफै यो दोहोरो चरित्र देखाउने मायाबी संसारमा ।।
प्यारो कान्छो छोरा, हुन्छु निशब्द अनि भक्कानिन्छु जब हेर्छु तिम्रो निर्दोष मुहारमा
खै के पो पाप गरिएछ अञ्जानमै कुन्नी यो चौरासी लाख पछि पाएको मानवरुपी जुनीमा ।
न तिमी खुशीमा रहन सकेका छौ न त म, न तिमी मलाई बुझ्छौ न बुझ्छु म
बस हेर्दै बसेका छौ एक अर्कालाई टोपल्दैमा, बस् हेर्दै बसेका छौ एक अर्कालाई टोपल्दैमा ।
