उनैको साथ किन?
— मोनिका सत्वाज्येत सुनुवार
दिनलाई घामको साथ,
रातलाई जुनको साथ,
तिमीलाई उनैको साथ
किन?
जन्मिनु छ एक्लै,
मर्नु छ एक्लै, तर
बाँचुन्जेल तिमीलाई उनैको साथ
किन?
बाल्यकालमा आमाबाबुको साथ,
वयस्कतामा उनैको साथ किन?
जुन बिना रात अधुरो,
ऊ बिना तिमी अधुरो किन?
बुढेसकालमा आमाबाबुलाई छोडी,
तिमीलाई उनैको साथ किन?
उनैको साथ भए तापनि,
तिमीलाई अर्को उनको साथ
किन?
जीवनको बाटो अप्ठ्यारो भए,
बाटो नै फेर,
न कि जीवनको दिशा उनतिर।
तिमीलाई आफ्नो साथ आफैलाई बिरानो,
उनको साथ पाएर पनि तिमीलाई
उनैको साथ किन पिरालो?
