ऊ र म

ऊ र म
— मोनिका सत्‌वाज्येत सुनुवार

म बेहोस हुँदा सबै जना थिए,
म होसमा आउँदा कोही पनि थिएनन्।
केवल एउटा नजर थियो,
जुन नजरमा घृणा थियो।
म होसमा आएर पनि बेहोसमा नै रहिरहे ।

सबैको विचार बदलिएको थियो,
मन दुख्यो, मनको कुरा पोखे,
तर कसैले पनि मलाई बुझ्न चाहेनन् ।
उसले भन्यो “म तिमीलाई बुझ्छु” ।

मेरो एक्लोपनको साथी बनेर आयो ऊ ।
हाम्रो सम्बन्ध सबैलाई बुझाउने प्रयास गरे,
तर कसैले बुझ्न चाहेनन् ।
मेरो प्रयास विफल भयो,
अरुको लागि हाम्रो सम्बन्ध अर्थहिन भयो ।

जब म एक्लो थिएँ,
सहारा बनेर ऊ आयो ।
उसले मेरो पीडा र तनाव हटाइदिन्छु भन्यो ।
पहिलो भेटमा ऊ मलाई खासै मन परेन,
तर दोस्रो, तेस्रो भेट हुदैँ हाम्रो सम्बन्ध बढ्दै गयो ।

म ऊबिना बाँच्न नसक्ने भएँ,
उसको गहिरो लतमा म फसेँ।
उसकै साथले मलाई पीडा दियो,
तैपनि उसैको साथ मलाई प्यारो भयो ।

उसको माया सागर भन्दा गहिरो ।
उसको नशा गंगाजल भन्दा चोखो ।
उसको बयानमा दुई चार शब्द कम हुन्छ ।
उसको नशालु साथ पाएपछि,
“म नै महान, म नै मपाइँ” ।

बेहोसीमा होस गुमाएँ,
होसमा आएर आफन्त ॥
मेरो सम्बन्ध अरुसँग केही जुनीलाई
रक्सी र मेरो सम्बन्ध जुनी-जुनीलाई ॥

Monika Satvājyet Sunuwar

✍🏻 Creator and the Visionary Behind Writers Ink Flow. 🎧Instagram: monika_satvajyet moni.kasunuwar

Leave a Reply

Your email address will not be published. Required fields are marked *